सिन्धुली – सिन्धुलीको ग्रामिण भेगमा विकासका लागि विस्तार भएको सडकले नै विनाश निम्त्याएको छ । गाउँगाउँमा मोटरबाटो विस्तार गरिने उदेश्यले खनिएका सडकको कारण हजारौ घर लगाएत विद्यालय नै पहिरोको जोखिममा परेका छन् । गाउँमा विकास पुराउन जथाभावी खोलिएका सडक खण्डले विनास निम्त्याएको स्थानियले गुनासो गरेका छन् ।
फराकिलो बनाउन चकमके–आम्बोटे– जिनाखु सडक खण्ड खोलिए सँगै सडक माथिको तिनपाटन गाउँपालिका वडा नम्बर ९ स्थित मा बि आम्बोटे को भबन नै पहिरोको जोखिममा परेको विद्यालयका प्रधानाध्यापक जितेन्द्र कुमार महासेठले बताउनुभयो । सडक खोलिए सँगै जोखिममा रहेको विद्यालयको ४ कोठे पक्कि भवन नजिकको भाग हाल वर्षाले भासिएको उहाँले जानकारी दिनुभयो । विद्यालयको ४ कोठे पक्कि भवनमा विद्यार्थी राखी पढाउन नमिल्ने भएको उहाँ बताउनुहुन्छ । “भवन नजिकको भाग भासिएको छ ।” प्रअ महासेठले भन्नुभयो, “कुन बेला भवन नै खस्ने हो थाहा छैन । यस्तो जोखिम स्थानमा विद्यार्थी राखेर हामी पढाउन सक्दैनौ । ” उक्त भवनमा पढाइ हुने कक्षा १,२ र ३ का विद्यार्थीलाइ अरु नै स्थानमा व्यवस्थापन गरेर पढाउने उहाँको भनाई छ ।
तिनपाटन गाउँपालिका वडा नम्बर ८ बाहुनतिल्पुङमा ग्रामिण सडक खण्ड स्तरोन्नती गर्ने जथाभावि बाटो खनिए सँगै सडक माथिका ३ घरपरिवार पहिरोको जोखिममा परेको स्थानिय वरुण घिमिरेले बताउनुभयो हरेक वर्ष एउटै सडकमा विकासको नाममा डोजर चलाउने र जमिन कोट्याएर छोड्ने परिपाटीले विकासभन्दा पनि विनाशलाई निम्त्याउँने गरेको स्थानिय घिमिरे बताउनु हुन्छ । सडक विस्तार गर्दा त्यसको दीर्घकालीन असर, वातावरणीय प्रभाव मूल्याङ्कन, प्राविधिक तथा विज्ञसँगको परामर्श केही नगरी ग्रामीण बस्तीमा गुणस्तरीय विकासभन्दा पनि परिमाणात्मक रूपमा कति लम्बाइ सडक खनियो भन्ने प्रवृत्तिले गर्दा समते विनास निम्त्याएको उहाँको भनाई छ ।