आस्था विश्वकर्मा/ सिन्धुली
विपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका भिमानमा लागु पदार्थ सेवन गरि सवारी साधन चलाउने ७ जनालाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको कमलामाई नगरपालिका ९ भिमान बसपार्कमा जनस्वास्थ्य कार्यलय सिन्धुलीद्धारा आयोजीत सवारी चालकहरुको स्वास्थ्य परिक्षण कार्यक्रममा चालकहरुको स्वास्थ्य चेकजाँच गर्ने क्रममा लागु पदार्थ सेवन गरि गाडी चलाएको पाइएको हुदाँ ७ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

सडक दुर्घटना रोकथाम, न्यूनिकरण तथा चालक र यात्रुहरुलाई सचेत गराउने उद्देश्यले बुधबार चालकहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । राजमार्गमा सञ्चालित मोटरसाइकल, ट्रक, ट्रयाक्टर, हायस, इलेक्ट्रीक गाडी, साना तथा ठूला निजी गाडीको चालकहरु गरि ६५ जनाको स्वास्थ्य परिक्षण गरिएको मा ७ जनाले लागु पदार्थ सेवन गरि गाडी चलाएको पाइएको हुदाँ प्रहरीले चालकहरुलाई नियन्त्रणमा लिएको छ ।

लागु पदार्थ सेवन गरि सवारी चलाउने चालकहरुमा राजविराजबाट काठमाडौँ तर्फ जादैँ गरेको बागमती प्रदेश ०१–००५ ख ९६७१ नम्बरको हायसका चालक सप्तरीको रुपनी गाउँपालिका २ का ३६ वर्षीय गजेन्द्रकुमार यादब, कटारीबाट सर्लाही तर्फ जादैँ गरेको प्रदेश २–०१–००१ ख ००७० नम्बरको ट्रक चालक उदयपुर कटारी नगरपालिका १४ का ३० वर्षीय चन्द्र बहादुर दमाई, बर्दिबासबाट काठमाडौँ तर्फ जादैँ गरेको बागमती प्रदेश ०६–००१ ज ०१४५ नम्बरको इलेक्ट्रोनिक गाडीका चालक महोत्तरीको बर्दिबास नगरपालिका १४ का २७ वर्षीउ सौरभ भुजेल, सरर्लाहीबाट काठमाडौँ तर्फ जादैँ गरेको ना १ ज ८७१४ नम्बरको विङ्गर चालक सर्लाहीको लालबन्दी नगरपालिका ५ का ४१ वर्षीय राजकुमार घिमिरे, त्यस्तै झापाबाट काठमाडौँ तर्फ जादैँ गरेको बा ५ ख ४१९० नम्बरको हायस चालक झापाको बुद्ध शान्ति गाउँपालिका २ का ३१ वर्षीय तुलसी दर्जी , काठमाडौँबाट झापा तर्फ जादैँ गरेको बा ४ ख ६६७७ नम्बरको हायस चालक दोलखाको कालिन्चोक गाउँपालिका ९ का ४३ वर्षीय दिपक राज चिमरिया र सर्लाहीबाट खुर्कोट तर्फ जादैँ गरेको प्र २–०४–००१ च ०११४ नम्बरको पिकअप चालक सर्लाहीको लालबन्दी नगरपालिका ५ का २४ वर्षीय विष्णु अधिकारी रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायब उपरिक्षक अनिल खड्काले जानकारी दिनुभयो । नियन्त्रणमा रहेका व्यक्तिहरुलाई कानुन बमोजिम कारर्वाही गरिने उपरिक्षक खड्काले बताउनुभयो ।


