सिन्धुली- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ५ मा ६ महिना देखि पञ्जिकरण दर्ताको काम रोकिएको छ । वडामा कम्प्युटर चलाउने कर्मचारी नहुदाँ पञ्जिकरण दर्ताको काम रोकिएकोे हो । पाँच नम्बर वडाबासीले पञ्जिकरण दर्ता गर्न ४ नम्बर वडा पुग्नु पर्दछ । वडा नम्बर ४ ले पनि काम गर्ने विभिन्न बाहाना बनाउने गरेको सेवा ग्राहिले गुनासो गरेका छन् । समयमा पञ्जिकरण दर्ताको काम नहुदाँ जरिवाना तिर्नु परेको उनीहरुको गुनासो छ । वडाबाट हुने सामान्य कामको लागि पनि हप्तौँसम्म धाईरहनुपर्ने बाध्यता रहेको वडामा सेवा लिन आउनुभएको एक सेवा ग्राहि बताउनुहुन्छ । “वडामा धाएको आज पाँच दिन भयो । अहिले सम्म जन्मदर्ता बताउन सकेको छैन । आफ्नो वडामा आयो अन्य वडामा जा, यता जा, उता जा भन्छन् । ३५ दिन सम्म जन्मदर्ता बनाएन भने ५ सय जरिवाना तिर्नुपर्छ । हाम्रो समस्या कस्ले बुझ्ने ? ६ महिना भइसक्यो सचिव नभएको, भएको निमित्त सचिवलाई पनि कम्प्यूटर चलाउन आउँदैन ।” उहाँले भन्नुभयो ।
समयमा विवाह दर्ता, जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता र बसाईसराई दर्ता काम वडाबाट नहुदाँ स्थानिय आक्रोसित भएका छन् । वडा नम्बर ५ मा कम्प्युटर चलाउने कुनै कर्मचारी छैनन् । पञ्जिकरण दर्ताको काम अनलाइन प्रणालीबाट हुन्छ । वडा नम्बर ५ का सेवाग्राहिले सेवा लिन वडा नम्बर ४ पुग्नुपर्ने बाध्यता रहेको एक सेवाग्राहिले बताउनुभयो । “मैले विवाह दर्ता बनाउनका लागि वडा नम्बर ४ मा पुगे । म ५ नम्बर वडाबासी हो, मैले मेरो वडाबाट पाउनुपर्ने सेवासुविधा पाएको छैन । यस वडाबाट केहि काम नहुने भए वडा कार्यालय आज बाटै बन्द गरौँ ।” उहाँले भन्नुभयो । सेवा लिन अर्को वडा जादाँ आफ्नो घर हुँदाहुदैँ अर्काको घरमा गएर बास बसेसरह भएको उनीहरु बताउँछन् । “आफ्नो वडा हुदाँ हुदै पनि अर्को वडामा सेवा लिन जान हामी बाध्य छौँ, यो नाम मात्रको वडा कार्यालय भएको छ । हिजो हामीले भोट दिएर जिताएको जनप्रतिनिधिले हाम्रो समस्य बुझ्न सकेनन् । ६ महिना हुदाँ पनि किन वडा सचिव ल्याउन सकेनन् ? भएको वडा सचिवलाई किन निकालीयो ? हामीले यहि वडा कार्यालयबाट सेवा लिन पाउँदैनौँ भने आज नै कार्यालय बन्द गर्ने छौँ ।” स्थानिले भने ।
वडा नम्बर ५ मा निमित्त वडा सचिव गणेश कुमार राई हुनुहुन्छ । उहाँलाई कम्प्युटर चलाउन आउँदैन । वडामा आएका सेवाग्राहिलाई अन्य वडामा पठाउने गरेको उहाँ बताउनुहुन्छ । “अनलाइन बाट हुने कुनै काम यहाँ हुदैन, किन भने मलाई कम्प्यूटर चलाउन आउँदैन । अनलाइनबाट हुने सम्पूर्ण काम ४ नम्बर वडामा पठाउने गरेको छु । ४ नम्बर वडाले अनलाइनमा भर्ने काम गरिदिन्छ । वडामा आएका सम्पूर्ण सेवाग्राहि ४ नम्बर वडामा जान्छन् ।” उहाँले भन्नुभयो । अनलाइन प्रणालीबाट पञ्जिकरण दर्ताको काम हुने भएकाले आफुले नजानेको निमित्त वडा सचिव राइले स्वीकार गर्नुभएको छ । वडा नम्बर ५ मा ६ महिना देखि वडाबाट जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता र बसाईसराई दर्ता हुन सकेको छैन ।