सिन्धुली – सिन्धुलीमा १ हजार २ सय २० अस्थायी मतदाता रहेका छन् । प्रतिनिधिसभा र प्रदेशसभाको मङ्सिर ४ गते हुने निर्वाचनका जिल्लाबाट १ हजार २ सय २० जना अस्थायी मतदाताको नामावली संकलन गरेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका सुचना अधिकारी गिता दाहालले बताउनुभयो ।

जिल्लामा दुइ वटा अस्थायी मतदान केन्द्र राख्ने निर्णय गरिएको छ । जिल्ला काराघार सिन्धुली कमलामाई नगरपािलका ५ र जिल्ला हुलाक कार्यालय कमलामाई नगरपालिका ६ मा अस्थायी मतदान केन्द्र राख्ने निर्णय भएको दाहालले बताउनुभयो ।

अस्थायी मतदान केन्द्रबाट निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीले मतदान गर्ने उहाँले बताउनुभयो । अस्थायी मतदाताले सङ्घ तर्फको समानुपातिक तर्फमात्रै मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

जिल्लामा निर्वाचनका लागि आवश्यक सबै मतपत्र आइसकेका छन् । मुख्य निर्वाचन अधिकृत उपेन्द्र प्रसाद गौतमका अनुसार निर्वाचनका लागि सङ्घ र प्रदेश तर्फ प्रत्यक्ष तर्फको आवश्यक मतपत्र जिल्लामा आइपुगेको छ ।