सिन्धुली- सिन्धुलीमा ३५ प्रतिशत रोपाइ सकिएको छ । मौसम अनुकूलता भएसँगै असार मध्य सम्म जिल्लामा झण्डै ३५ प्रतिशत धान रोपाइ सकिएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ । असार सुरु भएदेखि नै वर्षा भइरहेकाले किसानलाई धान रोपाइँमा सहज भएको छ ।
मल अभावकाबीच जिल्लका किसानले रोपाइँ सुरु गरेका छन् । जिल्लामा युरिया, डिएपी, पोटास मल अभाव कायमै रहे पनि किसानले रोपाइँ सुरु गरेका हुन् । रोपाइँका समयमा सरकारले डिएपी र युरिया मलको व्यवस्थापन नगर्दा यसवर्ष धेरै किसानले मलबिनै रोपाइँ गर्नुपरेको किसानको गुनासो छ ।
कृषि ज्ञान केन्द्र सिन्धुलीका निमित्त प्रमुख श्रीकृष्ण अधिकारीले जिल्लाका विभिन्न भागमा किसान रोपाइँमा व्यस्त रहेको र करिब ३५ प्रतिशत भूभागमा रोपाइँ सकिएको जानकारी दिनुभयो । उहाँले रासायनिक मल अभाव भए पनि प्राङ्गारिक मलको प्रयोग गरी मल अभावलाई पूर्ति गर्न सुझाव दिनुभयो । “मल अभाव हुँदा उत्पादन घट्न सक्छ, रासायनिक मलको अभावलाई पूर्ति गर्न गोबर मल, प्राङ्गारिक मलको प्रयोग गर्नुपर्छ,” उहाँले भन्नुभयो ।
धान रोपाइँ सकिएको करिब एक महिनापछि सुक्ष्म खाद्यतत्व प्रयोग गर्न अधिकारीले किसानलाई सुझाव दिनुभयो । कमलामाई नगरपालिका–१२ का किसान हर्क बहादुर लामाले छिट्टै वर्षा भएकाले रोपाइँ गर्न सहज भएको बताउनुभयो ।
पछिल्लो केही दिनयता वर्षा हुन सुरु भएपछि रोपाइँ गर्ने प्रतिशत बढ्न थालेको जनाइएको छ । जिल्लामा असार पहिलो साताबाटै रोपाइँ गरिने भए पनि आकाशे पानीको भरमा रोपाइँ गर्दै आएका यहाँका किसान भने बल्ल धान रोपाइँको काममा लागेको कमलामाई नगरपालिका–४ का स्याम खत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “असार पहिलो सातादेखि जिल्लामा रोपाइँको निकै चटारो हुने गर्दथ्यो, ढिला वर्षा भएकाले बल्ल रोपाइँ सुरु भएको छ, अब यो वर्ष खेती पनि ढिलै पाक्छ होला ।”कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा जिल्लामा १५ हजार चार सय २३ हेक्टरमा धान खेति धानखेती हुन्छ ।
जिल्लाको कमलामाई, दुधौली नगरपालिका, मरिण गाउँपालिका, फिक्कल गाउँपालिका, तिनपाटन गाउँपालिका र हरिहरपुगढी गाउँपालिका लगायतमा धानखेती हुने गरेको छ ।
मल अभाव कायमै
खेतीपातीको समयमा मल अभाव हुँदा किसानलाई समस्या भएको छ । कृषि सामाग्री कम्पनी लिमिटेड सिन्धुलीका शाखा प्रवक्ता नवराज महत्तका अनुसार जिल्लामा गत फागुन महिना देखि युरिया मलको अभाव भएको हो । “साउन देखि फागुन सम्म जिल्लामा लगभग १७ सय टन युरिया मल भित्रिएको थियो ।
त्यस पछि जिल्लामा मल आएकै छैन । मलको समस्या अहिले राष्ट्रिय समस्याकैरुपमा देखिएको छ ।” उहाँले भन्नुभयो । जिल्लामा यस आर्थिक वर्षमा ६ हजार टन युरिया मल, २५ सय टन डिएपि मल र २५० टन पोटास मल माग गरिएको थियो ।
प्रवक्ता महत्तका अनुसार कृषि सामाग्री कम्पनी लिमिटेडले जिल्लामा ३ हजार टन युरिया, एक हजार टन डिएपी र १५० टन पोटास मल स्वीकृत दिएपनि जिल्ला आएको छैन । आगामी असारको दोस्रो साता सम्म मल जिल्लामा आइसक्ने भनिपनि अझै मलको अभाव रहेको छ ।