सोलुखुम्बु स् झुटो विवरण पेश गरी नागरिकता बनाएको आरोपमा पक्राउ परेका ७ जना विरुद्ध सोलुखुम्बु प्रहरीले म्याद थप गरी अनुसन्धान सुरु गरेको छ । सिन्धुलीका व्यक्तिलाई सोताङ गाउँपालिका–४ को भनी नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेकालाई ७ दिनको म्याद थप गरि अनुसन्धान अघि बढाइएको सोलुखुम्बु प्रहरीले जनाएको छ ।
झुटो विवरण देखाएर नागरिकता लिएको उजुरीको आधारमा नागरिकता लिने ३० वर्षीय सरोज तामाङ र दिलाउन दाईको भूमिका निर्वाह गर्ने ४२ वर्षीय शुक्र तामाङ, साक्षी बस्ने २४ वर्षीय सुदिप राई, ३९ वर्षीय मन कुविर राई, ३४ वर्षीय टिकाराम राई, ३० वर्षीय आषिश राई र ३४ वर्षीय सुर्य बहादुर राईलाई गत बुधबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सरोजले वडाको सिफारिसमा साउन २४ गते जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुबाट ११–०१–७८००३५५ नम्बरको नागरिकता लिएको प्रहरीले जनाएको छ । झुटो विवरण सिफारिस गर्ने वडाध्यक्ष र वडा सचिवलाई पनि जिल्ला झिकाइएको प्रशासन स्रोतले जनाएको छ ।
प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार २०४८ सालमा सिन्धुलीमा जन्मेका सरोज तामाङले सोताङ गाउँपालिका–४ वडा कार्यालयमा जन्म दर्ता गराई स्थानीयवासी शुक्र तामाङलाई दाईको रुपमा सनाखत गरी नेपाली नागरिकता लिएको आरोप छ ।